कुनै पनि संस्थाको समृद्धिका लागि त्यसको वर्तमान स्थितिको व्यापक र सर्वाङगीण विश्लेषण गर्दै सोही आधारमा भविष्यमा संस्थालाई कस्तो बनाउने भन्ने स्पष्ट परिकल्पना, ध्येय, लक्ष्य, उद्देश्य, रणनीति र कार्ययोजना सहित समावेश गरी तयार गरिएको दस्तावेजलाई रणनैतिक योजना (Strategic Plan) भनिन्छ । अर्थात् एउटा असल रणनैतिक योजनाले संस्थालाई भविष्यमा कस्तो बनाउन चाहेको हो, चाहे अनुसारको संस्थागत समृद्धिमा कसरी पुग्न सकिन्छ, के कस्ता लक्ष्य र उद्देश्यहरु हाँसिल गर्नु पर्ने हुन्छ, कस्ता रणनीतिहरु अपनाउनु पर्ने हो, त्यसका लागि के कस्ता कार्यहरु गर्नु पर्दछ, ती कार्यहरु सम्पन्न गर्नका लागि के कति स्रोतको आवश्यकता पर्दछ, त्यो कहाँबाट जुट्दछ, कसले सहयोग गर्दछ, कसले जिम्मेवारी लिन्छ आदि जस्ता पक्षहरु समेटेको हुन्छ ।
रणनैतिक योजना तर्जुमा (Strategic Plan) भन्नाले वर्तमान अवस्थाको सुक्ष्म र व्यापक विश्लेषण गर्दै संस्थाको समृद्धिका लागि परिकल्पना, ध्येय, लक्ष्य, उद्देश्य, आधार र प्राथमकिता, रणनीति, कार्यक्रम, क्रियाकलाप तय गरी सो हासिल गर्नका लागि सामाजिक, आर्थिक तथा मानवीय स्रोतको बाँडफाँड र समयसीमा निर्धारण गरी तर्कबद्ध शैलीमा प्रस्तुतिकरण गर्ने प्रक्रियालाई बुझिन्छ । रणनैतिक योजना संस्थागत समृद्धि (Institutional Prospertiy)का लागि सामुहिक (Collective), अन्र्तक्रियात्मक (Interactive), सहभागीतामूलक (Participatory), र तर्कबद्ध (Logical) प्रयासको प्रतिफल हो । यसमा सरोकारवालाहरुले पूर्णतः अपनत्व (Ownership)को दृष्टिले हेरेको हुनु पर्दछ जसका लागि रणनैतिक योजना एउटा सक्षम माध्यम मानिन्छ । यसमा संस्थागत समृद्धिको दिशा, इच्छा, प्रतिबद्धता, विशिष्टता, क्षमताका आधारमा प्रतिफल र प्रक्रियालाई सन्तुलित रुपमा प्रकट गरिएको हुन्छ ।
संस्थाको समृद्धिका लागि परिकल्पना, ध्येय, लक्ष्य, उद्देश्य, आधार र प्राथमकिता, रणनीति, कार्यक्रम, क्रियाकलाप तय गरी सो हासिल गर्नका लागि संस्थाको प्रभावकारी व्यवस्थापन (Effective Management) अत्यावश्यक रहेको हुन्छ । सही कार्य, सही स्थानमा सही व्यक्ति वा निकायले जवाफदेहीपूर्ण ढंगले सम्पादन गर्नका लागि रणनैतिक योजनाले मार्ग निर्दिष्ट गरेको हुन्छ । विशेष गरी संस्थाको सघन आधुनिक व्यवस्थापन प्रणाली (Intensive Modern Management System)मा रणनैतिक योजनाको विश्वव्यापी प्रचलन रहँदै आएको छ । संस्थालाई परिपक्व, आत्मनिर्भर र सक्षम बनाउदै विकास र विस्तार गर्नका लागि यसले भूमिका खेलेको हुन्छ ।
No comments:
Post a Comment